काठमाडौं । सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन् ।
सत्तारुढ नेकपाका सांसद् जनार्दन शर्मा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको भन्दै हटाउन माग गरेका हुन् ।
सहमतिको आधारमा स्थानीय तहको कर्मचारीलाई प्रदेश भित्रको अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख छ ।
कांग्रेस सांसद कँडेलले बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सहमति भनेपछि त्यसमा कांग्रेस, कम्युनिस्ट र मधेसी दल भनेर राजनीतिक आस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गरे ।
त्यसैगरी सत्तारुढ नेकपाका सांसद शर्माले पनि सहमतिको नाममा कर्मचारीहरुलाई सरुवाका लागि बाध्य पार्ने ढंगले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने स्पष्ट पारे । उनले योग्यता, क्षमताको आधारमा कर्मचारीहरुले सरुवा हुन पाउने व्यवस्था गरेर अघि बढ्न पनि सरकारलाई सचेत गराए ।
समितिका सदस्यहरुले कर्मचारीहरुको सरुवा आवश्यक्ताको आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
