काठमाडौं । बिहीबार प्रतिनिधि सभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दाबोल्दै बिजुलीकाे लाइन कट्याे ।
सांसद् गजेन्द्र महतले जुम्लामा विद्युत अवरोध भएको विषयमा गरेको प्रश्नको जवाफ दिन रोस्ट्रम पुगेका मन्त्री पुन बोल्दाबोल्दै करिब १५ सेकेन्डसम्म लाइन गयो । सदनमा विद्युतकै विषयमा छलफल भइरहँदा दुई पटकसम्म लाइन गएकाे थियाे । लाइन पुनः आएपछि मन्त्री पुनले हाँस्दै भने, ‘धन्यवाद ! कमसेकम समयमै आयो ।’
सदनमा दुई पटकसम्म लाइन गएपछि सांसद्हरूले संसद् भवनमा त यसरी लाइन जान्छ भने जनताका घरमा के हाेला भनेर व्यंग्य गरेका थिए ।
सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई अगाडि नै जानकारी भएको र फेरि ध्यानाकर्षण गराएकामा सांसद महतलाई धन्यवाद दिए ।
उनले जुम्लाको समस्या समाधानका लागि तीन सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए । सदनमा उठेको प्रश्नको जवाफ तत्काल दिएको भन्दै सांसदहरुले मन्त्री पुनलाई धन्यवाद दिएका थिए ।
