काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जुम्लामा विद्युत्काे वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताएका छन् ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भएलगत्तै वैकल्पिक प्रयास सुरु गरिएको बताए । नेपाल विद्युत् प्राधिकरणको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको तीन सय केभिए क्षमताको डिजेल जेनेरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको पुनको भनाइ थियो ।
जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए । उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेका थिए ।
मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए । जुम्लामा ३३ केभी प्रसारण लाइनका लागि यसै वर्ष दैलेख-जुम्ला ट्रान्समिसन लाइनका लागि टेन्डर भएर छनौट पनि भइसकेको भन्दै उनले दुई वर्षभित्र प्रसारण बनिसक्ने बताए । साथै उनले यसै वर्षको बजेटमा कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर २ को पूर्व विद्युतीकरणका लागि बजेटको व्यवस्था गरिएको पनि जानकारी गराए ।
सांसद् महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाइन सेवामार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट बिग्रेको जानकारी आफूले पाएको तर सांसद् महतले आफूसँग भेट्न गरेको प्रयासबारे जानकारी नभएको स्पष्ट पारे । उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानाकर्षण गराउँदा उपयुक्त हुने सुझावसमेत दिए । उनले भने, 'जुन आवेगमा राख्नुभयो, त्यही उचाइको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो ।'
उनले जुम्लामा दुई सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लान्ट रहेको र सो प्लान्ट उपभोक्ताको सहभागितामा सञ्चालन हुँदै आएको स्पष्ट पारे । साथै उनले सोही उपभोक्ता समितिले नै आयोजनाको सञ्चालन मर्मतसम्भारसम्बन्धी सम्पूर्ण कामहरु गर्दै आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मंसिरसम्म रहेको जानकारी समेत गराए ।
स्थानीय पूर्वाधार कोषमार्फत २६ लाख ४० हजार खर्च गरेर एक सय ६० किलोवाटको डिजेल प्लान्ट लगाएर जुम्लामा आपतकालीन विद्युत् सप्लाई सुरु भएको मिडियामा सुन्न आएको भन्दै उनले सांसद् महतलाई धन्यवाद दिए ।
मन्त्री पुनलाई ४५ जना सांसद्ले प्रश्न सोधेका थिए ।
