काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्मअनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।
मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत पनि गराए ।
उनले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढ्न पनि सरकारलाई आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व पनि कायम भएकाले अब समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको स्मरण गराए ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्कतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेका छन् ।
