काठमाडौं । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद्हरुले बैठक कक्षको एसी बिग्रिएकोदेखि सदनमा सांसद्ले बाेलेका कुरामा सरकारले चासाे नदिएकाे विषयमा चर्चा गरे ।
शून्य समयमा बोल्दै सांसद् सीतादेवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरिन् ।
सांसद सुजता परियारले प्रतिनिधि सभा बैठक कक्षको एअर कन्डिसन बिग्रिएकोतर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गरिन् । उनले भनिन्, 'सुनिन्छ एसीमा पानी छैन । पानी सकिएर एसी नचलेको । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि ? पानी पेट्रोलभन्दा महंगो भएको हो ? तीन-तीन दिनसम्म पनि एसी बनाउन नसक्नु सरासर लापरबाही हो । त्यसैले सभामुखमार्फत तत्काल सम्बन्धित निकायलाई निर्देशन होस् भनी अनुरोध गर्न चाहन्छु ।'
सांसद सुदन किराँतीले सबैतर्फ बेथितिहरु देखापरेको भन्दै बेथितिले सहने शक्ति कहाँबाट आर्जन गर्ने भनी प्रश्न गरे । उनले स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरे । उनले भने, 'आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिइएन । किन भने गाँउपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ ।'
दूरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनु परिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको भन्दै उनले भने, 'काठमाडाैंभन्दा १० गुणा ठूलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन । जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टाभित्र बरखास्त गरेर हजारौँ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।'
सांसद सुरेशचन्द्र दासले प्रतिनिधि सभाको बैठकको शून्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।
सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबैभन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।
सांसद ज्ञानकुमारी छन्त्यालले साउन १८ गते रातिदेखि मध्यपहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारीसाधन सञ्चालनमा समस्या देखिएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, 'सरकारले केही बनाउने सुरसार गरेकाे छैन । त्यहाँका जनताले मलाई राति सुत्न पनि दिएका छैनन् । बस्न खान दिएका छैनन् । फोन गरेर मलाई असाध्यै 'मासु तितो' बनाएका छन् सभामुख महोदय । सो सडकखण्ड छिटोभन्दा छिटो बनाओस् भनी म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।'
