काठमाडौं । प्रतिनिधि सभामा सांसद्हरुले हाजिर गरेर टाप (हाटा) ठोकेपछि बैठक नै स्थगित भएको छ । बिहीबारको बैठकमा एक विधेयक पारित गर्न लाग्दा गणपूरक संख्या नपुगेपछि बैठक नै स्थगित भएको हो ।
बैठकमा सेफगार्ड एन्टी डम्पीङ तथा काउन्टर भेलिङ विधेयक पारित गर्न लागिएको थियो । सभामुख कृष्णबहादुर महराले विधेयक पारित गर्ने प्रस्ताव राख्न थाले । तर, कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले नियमापत्ति गरे । उनको भनाई थियो, विधेयक पारित गर्न कोरम पुग्दैन ।
त्यसबेला बैठकमा दुई दर्जन जति पनि सांसद थिएनन् ।
देवप्रसादको नियमापत्ति पछि सभामुख महराले सांसदहरुको गणपूरक संख्या यकिन गर्ने घोषणा गरे । सभामुखले तीन मिनेट घन्टी बजाउने निर्देशन दिए । तीन मिनेट लगातार घन्टी बजाइयो । संसद् भवन परिसर तथा विभिन्न कोठामा रहेका सांसद्हरु हस्याङ फस्याङ गर्दै सभा भवनमा छिर्न थाले ।
तीन मिनेटपछि सांसद् संख्या गणना गरियो । गणना गर्दा सिर्फ ४१ जना सांसद् मात्र सभामा थिए । संविधानको धारा ९४ अनुसार सभामा कुनै विषय पारित गर्न २५ प्रतिशत सदस्य अनिवार्य उपस्थित भएको हुनुपर्छ । २५ प्रतिशत भनेको ६९ जना हो ।
अर्थात् कोरम पुगेन । कोरम नपुग्नुको अर्थ हो सांसद्हरु हाजिर गर्दै टाप कसे । बैठक अवधीभर बसेनन् । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
