काठमाडौं । संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मेडिकल कलेजहरुको शुल्क सम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म अनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ ।
त्यसैगरी गरिब, जेहेन्दार, द्वन्द्व पीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको पनि समितिकी सभापति घर्तीले बताइन् ।
बैठकमा उपसमितिले जेहेन्दार विद्यार्थीहरु पनि खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट वञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भए पनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका थिए ।
समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो आयोग गठन गरी चिकित्सा शिक्षा अध्ययनमा सबैको पहुँच पुर्याउने काममा सरकारले ढिलाइ गर्न नहुने स्पष्ट पारे ।
समितिले सबै मेडिकल कलेजहरुको भर्ना प्रक्रियालाई समान ढंगले अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
