काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भइरहेकै बेला परिचयपत्र वितरण जारी राखेकामा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न माग गरे ।
शुक्रबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद बडूले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला परिचयपत्र वितरण गरेर सरकारले गल्ती गरेको दाबी गरे ।
उनले राष्ट्रिय परिचयपत्र छपाइ पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेको दाबी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराए । अर्र्बाैंको बजेट खर्च गरेर परिचयपत्र छपाइको काम सरकारले सुरु गरे पनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेकाले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बडूको भनाइ छ ।
त्यसैगरी कांग्रेस सांसद अमरेशकुमार सिंहले पनि परिचयपत्र वितरण जारी राखेकामा आपत्ति जनाए । उनले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचयपत्र विवरण गरियो ? भनी सरकारलाई प्रश्न गरेका छन् ।
कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचयपत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको आरोप लगाए । उनले समितिमा विचाराधीन नागरिकता विधेयक र राष्ट्रिय परिचयपत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचयपत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराए ।
बैठकमा समितिका सदस्यहरूले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचयपत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
