काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्ने कार्यतालिका छ ।
अजको बैठकको कार्यसूचीअनुसार सभामुखले प्रतिनिधि सभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेर गर्ने छन् ।
त्यस्तै व्यवस्थापन कार्यतर्फ कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र “बिउ बिजन (दोस्रो संशोधन) विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको प्रहरी समायोजन विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रहरी समायोजन विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको वातावरण संरक्षण विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र वातावरण संरक्षण विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि गत बिहीबार बसेको प्रतिनिधि सभाले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ गरी दुई विधेयक पारित गरेको थियो ।
