काठमाडाैं । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकले प्रहरी समायोजन विधेयक पारित गरेको छ । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुने गरी प्रहरी समायोजन विधेयक पारित भएको हो ।
प्रदेशमा समायोजन भएर जाने प्रहरीको दुई तह ग्रेड वृद्धि हुने भएको छ । 'विधेयक पारित गरियोस्' भन्ने प्रस्ताव पेस गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिको व्यवस्था गरिएको बताएका छन् ।
यस्तै, विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरेको छ । अहिले समायोजन भएर जाने प्रहरी बढुवा भएर माथि आउन सक्ने तर प्रदेशबाट नियुक्ति हुन थालेपछि भने केही प्रतिशत मात्र पदोन्नति भएर माथि आउन सक्ने छन् ।
यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लाेगाे भने लगाउन पाउने उल्लेख छ ।
