काठमाडौं । नेकपा सांसद नवीना लामाले विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्न नहुने बताएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले विश्वविद्यालयमा रिक्त पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गरेकी हुन् । पूर्व विद्यार्थी नेतृ समेत रहेकी सांसद लामाले भनिन्, ‘खुला प्रतिस्पर्धाबाट उपकुपति र पदाधिकारी नियुक्त गरियोस’ ।
अहिले त्रिविमा परीक्षा सञ्चालन र सम्बन्धन लगायतका विषयमा डरलाग्दो विकृति विसंगति मौलाएको पनि उनले बताइन् ।
यी विकृति र विसंगति अन्त्यका लागि खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिको नियुक्ति गर्नुपर्ने उनको माग छ । ‘राजनीतिक भागवण्डाका आधारमा होइन, खुल्ला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस्’ लामाले भनिन् ।
त्यसैगरी सांसद टेक बहादुर बस्नेतले श्रम ऐन लागु गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐन अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराएका हुन् ।
शून्य समयमा बोल्दै दिल बहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी सांसद दिपक प्रकाश भट्टले पर्यटन बर्ष मनाउने क्रममा सुदुरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने बताए । टनकपुर नाका संञ्चालनमा ल्याएर कंचनपुरको भीम दत्तर नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न उनले सरकारको ध्यानाकर्षण गराए
त्यसैगरी सांसद देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने कयौ पुलहरु बगाएर लगेको र ती पुलहरु अहिले सम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद डाक्टर नारायण खड्काले १८ सय १५को सुगौलि सन्धि र १९ सय १५ को शान्ति तथा मैत्री सन्धि लगायत सिमा सन्धि तथा महत्वपुर्ण दस्तावेजहरु हराएको सुन्न आएको बताए । यस्ता महत्वपुर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै उनले सम्बन्धीत मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।
त्यसैगरी कांग्रेस सांसद डा डिला संग्रौला पन्तले परिवर्तनका लागि बगाएको रगतको सत्तापक्षीय नेताहरुले अपमान गरिरहेको आरोप लगाइन् । सांसद संग्रौलाले जनता र प्रजातान्त्रिक आन्दोलनको अपमान गरेर राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई नभएको बताइन् । ‘धेरै जनताले देशको समृद्धि र विकासका लागि रगत बगाए । तर, आज जनताको रगतको बदला भ्रष्टाचार, दलाली र विषादीले जनताले विगतमा बगाएको रगतको अपमान गरिरहेको छ’ संग्रौलाले भनिन् ।
