काठमाडौं । संसदीय अभ्यासमा नौलो नौलो घटना भइरहन्छ । आजको प्रतिनिधि सभा बैठकमा पनि एउटा अनौठो घटना भयाे । सांसद्ले साेध्ने प्रश्नकाे जवाफ दिन रोस्ट्रममा पुगेका मन्त्री नबाेली फर्किनुपर्यो ।
बैठकमा मन्त्रीसँग सांसद्ले प्रश्न साेध्ने कार्यक्रम थियो । सामान्य प्रशासन र वाणिज्य मन्त्रालयसँग सम्बन्धित प्रश्न सांसदहरुले साेध्ने कार्यक्रम थियो ।
पहिले प्रश्नाेत्तरकाे पालाे थियाे सामान्य प्रशासनकाे । सभामुखकाे अासनमा रहेकी शिवमाया तुम्बाहाम्फेले प्रश्नाेत्तरका लागि मन्त्री लालबाबु पण्डितलाई रोस्ट्रममा बाेलाइन् ।
मन्त्री पण्डित रोस्ट्रममा पुगे । त्यसपछि सभामुखले प्रश्नकर्ता सांसद् महेन्द्र राय यादवकाे नाम बाेलाइन् । सभाहलमा महेन्द्र थिएनन् ।
मन्त्री पण्डित उभिइरहे । त्यसपछि फेरि सभामुखले महेन्द्र रायकाे नाम बाेलाइन् । अहँ, महेन्द्र देखा परेनन् । असहज अवस्था उत्पन्न भयाे । कारण के भने प्रश्नकर्ता सिर्फ एक जना मात्र रहेछन् । ती प्रश्नकर्ता सांसद् नै नभएपछि प्रश्नाेत्तर कार्यक्रम नै शून्यमा पुग्ने अवस्था अायाे ।
त्यसपछि सभामुख तुम्बाहाम्फेले भनिन्, 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नाेत्तर कार्यक्रम अाज भएन ।'
यसरी सोधिन्छ प्रश्न
प्रश्नोत्तरकाललाई सदनको अत्यन्तै महत्वपूर्ण अभ्यास मानिन्छ । सरकार तथा मन्त्रीहरुलाई सदन तथा जनताप्रति उत्तरदायी बनाउन प्रश्नोत्तरको महत्वपूर्ण भूमिका हुन्छ । तर, यति महत्वको प्रश्नोत्तरकालमा मन्त्रीसँग सिर्फ एक जना सांसद्ले मात्र प्रश्न सोधेबाट प्रश्नोत्तरलाई सांसद्हरुले गम्भीरतासाथ नलिएको देखिएको छ ।
प्रश्नोत्तरकालमा प्रश्न सोध्ने सांसद्हरुले दुई दिन पहिले नै प्रश्न टिपाएका हुन्छन् । मन्त्रीले प्रश्नको जवाफ दिन पहिले नै अध्ययन गरेर तयारीसाथ आएका हुन्छन् । महेन्द्रले पनि दुई दिनपहिले नै प्रश्न टिपाएका थिए ।
महेन्द्रले प्रश्न सोधेका थिए भने त्यसपछि मन्त्रीले जवाफ दिन्थे । सो जवाफउपर सांसद्हरुले तत्कालै पूरक प्रश्न पनि सोध्न सक्थे । तर, मूल प्रश्नकर्ता सांसद् नै गायब भएपछि सदनको महत्वपूर्ण समय खेर गएको छ ।
वाणिज्यमन्त्री मातृका यादवसँग भने धेरै सांसद्ले प्रश्न साेधेका थिए ।
अनुपस्थित हुँदा के गर्ने ?
प्रश्नकर्ता सांसद् उपस्थित हुन नसक्ने भएमा त्यसको पनि उपाय छ । प्रश्नकर्ता सांसद्ले अरु कोही सांसद्लाई आफ्नो प्रश्न सोधिदिनका लागि भन्न सक्छन् । जस्तो कि आज मन्त्री पण्डितपछि वाणिज्य मन्त्रीसँग प्रश्नाेत्तर थियो ।
सांसद् पुष्पा भुसालले पनि प्रश्न टिपाएकी रहिछिन् । कुनै कारणले उनी अनुपस्थित भइन् । पुष्पाको प्रश्न सोधिदिइन्– लक्ष्मी परियारले । अनुपस्थित हुनुपरेपछि महेन्द्रले पनि प्रश्न सोध्न अरु कसैलाई अख्तियारी दिन सक्थे । तर, महेन्द्र जस्ता परिपक्व सांसद्को गैरजिम्मेवारीले सदनको महत्वपूर्ण समय खेर गयो ।
