काठमाडौं । राष्ट्रिय सभाका सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकार्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद् अनिता देवकोटाले महिला तथा बालबालिका बेचबिखन बढेको भन्दै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानार्षण गराइन् ।
त्यसैगरी सांसद् उदय शर्मा पौडेलले निजी विद्यालयबाट अभिभावकहरु पीडित भएको बताए । ‘मासिक शुल्क चर्को छ, माथिल्लो कक्षामा प्रवेश गर्दा भर्ना शुल्क नलिने केही निजी विद्यालय भए पनि सो क्रम रोकिएको छैन’ पौडेलले भने ।
त्यसैगरी सांसद् कमलाकुमारी वलीले कैलालीको महोन्याल गाउँपालिकामा २०३६ सालमा नापी भएका जग्गाको लालपुर्जा सबै जनाताको हातमा भए पनि अहिलेसम्म नक्सा नपाएको बताइन् । उनले उक्त गाउँपालिकाको जग्गाको नक्सा उपलब्ध गराइदिन सरकारको ध्यानार्षण गराइन् ।
त्यसैगरी सांसद् खड्गकुमार विकले पोखराकाे पृथ्वी चोकस्थित बसपार्क १८१ रोेपनी क्षेत्रफलमा फैलिएकामा पछिल्लो समयमा सुकुम्बासीले अतिक्रमण गर्दा साँघुरिँदै गएको बताए । उनले वास्तविक सुकुम्बासीको पहिचान गरी अरुलाई कारबाही गर्न माग गरे ।
त्यसैगरी चक्रप्रसाद स्नेहीले नेपालमै नेपाली नोटको कारोबार नभएको गुनासो गरे । कञ्चनपुरको दाेधारा चाँदनी नगरपालिकामा नेपाली नोटको कारोबार नहुने र सबै भारतीय नोटको कारोबार हुने भन्दै उनले त्यहाँ नेपाली नोटको कारोबार हुने व्यवस्था गर्न सरकारको ध्यानाकार्षण गराए ।
सांसद् कोमल वलीले बौद्धिक अपाङ्गता भएका र दृष्टिविहीन, श्रवण शक्ति नभएका बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरे पनि शारिरीक र अतिअपांगता भएका बालबालिका यसबाट वञ्चित भएको बताइन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रश्न गर्दै वलीले भनिन्, ‘ती बालबालिका जो घरबाट विद्यालयमा आउन नसन्ने छन्, उनीहरुले पढ्न नपाएको अवस्था छ . उनीहरुले कसरी र कहिले पढ्न पाउँछन् ?'
