काठमाडौं । प्रतिनिधि सभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ ।
विकास तथा प्रविधी समितिको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् ।
काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न भिन्न कार्यालयहरु भएकोले जनताले दुख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताए । विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेस गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ ।
छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए ।
यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गरे । बैठकमा उपस्थित भएका खानेपानी तथा सरसफाई मन्त्री बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे ।
नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गने भन्दै पहिलो पटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक बनाई सदनमा पेस गरेको छ ।
