काठमाडौं । पर्यटन वर्ष २०२० मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताएको हुन् ।
नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षा बारे धेरै चासो राख्ने गरेको बताए । अहिले पनि प्रमुख पर्यटक गन्तब्य सम्मको पहुच सडक नसुधारिएको प्रमुख कार्यकरी अधिकृत जोशीले पर्यटन वर्ष २०२० सफलतापूर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती रहेको बताए ।
समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरि तान्न सकिन्छ ? भनेर प्रश्न गरे । शुक्रबार समितिले पर्यटक गन्तव्यसम्म पुग्ने सडकहरुको अवस्था बारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो।
छलफलमा सांसद इन्दु शर्माले चाबहिल-जोरपाटी सडक खण्डको उदाहरण दिदै देशको राजधानी भित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौँ बाहिरको अवस्था केहोला भनि प्रश्न गरिन् ।
अर्का सांसद बहादुर सिंह लामाले पर्यटक गन्तव्य सम्म कस्ताकस्ता पूर्वाधार छन् कसरी काम भएको सम्म जानकारी नभएको अवस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरी मनाउन सकिएला भनेर प्रश्न गरे ।
सांसदहरुको प्रश्न सुनी सके पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको बताए । काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको बताए ।
सांसदहरुले समितिमा लम्जुङ्ग–बेसीशहर–चामे सडक, बेनी– मुस्तांग सडक, सुर्खेत–अछाम–रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमार्ग, रसुवा–स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात संचालन गर्न नसकिने भएको गुनासो गरेका थिए ।
