काठमााडौं । प्रतिनिधि सभा बैठकमा जुलीकुमारी महताेले मुस्कान खातुनमाथि भएकाे एसिड आक्रमणकाे कडा विराेध गरेकी छिन् । बैठकको कारवाही सुरु हुनु अघि उनले समय माग गर्दै प्रदेश २ काे बीरगंजमा भएको एसिड आक्रमण बारे जानकारी राख्दै दाेषीलाई कडा कारवाहीकाे माग गरिन् ।
उनले बीरगंज महानगरपालिका छप्कैयामा मामा घरमा बस्दै आएकी १५ बर्षिया मुस्कान खातुन माथि भदाै २० मा भएको एसिड आक्रमणको घोर भर्त्सना गरिन् ।
‘प्रदेश २ सरकारले जोडतोडले वेटी पढाउ वेटी वचाउ अभियानको तयारी गरी रहँदा छोरी एसिडको सिकार हुन्छन भने वेटी पढाउ,वेटी वचाउ अभियान के का लागि ? उनले प्रश्न गरिन्।
उनले घाइते खातुनको स्वास्थ्यलाभको कामना गर्दै सरकारलाई उचित क्षतीपूर्ति दिन माग पनि गरिन् ।
बैठकमा सांसद् प्रदीप यादवले मुस्कानका अभिभावक विपन्न भएकाले उपचार खर्चकाे अभाव भएकाे बताए । उनले खर्च अभाव भएपछि अाफैले ५० हजार रुपैयाँ दिएकाे दावी गरे ।
नरमाया ढकालले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै दाेषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गरिन् । पार्वता डिसी चौधरीले मुस्कान खातुनको उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरिन् ।
पार्वतीकुमारी विशुंखे, प्रमिला राई लगायतले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो ।
