काठमाडौं । न्यूरोड क्षेत्रमा रगत छाद्दै मानिस मर्ने खतरनाक डेंगु रोग फैलिएको दावी नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले गरेका छन् ।
उनी सोही ठाउँका सांसद् हुन् । उनले प्रतिनिधि सभा बैठकमा बोल्दै डेंगु रोग लागेर आज न्युरोडमा ७६ वर्षीय एक महिलाको निधन भएको जानकारी दिए ।
उनका अनुसार काठमाडौंको भित्री सहरी क्षेत्रमा व्यापक रुपमा डेंगु फैलिएको छ । काठमाडौंका अस्पतालहरु डेंगु रोगीले भरिएको जानकारी दिँदै उनले भने– ‘अस्पतालमा रोगीको कुरुवा बसेका निरोगीलाई पनि डेंगु रोग लागिसक्यो । रोग नियन्त्रणका लागि तत्कालै प्रभावकारी कदम चालियोस् ।'
नेपाली काँग्रेसकी पुष्पा भुषालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई सदनमा पेश गर्न सरकारसँग माग गरिन् । शून्य समयमा बोल्दै उनले ७० हजार भन्दा धेरै नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेकाे हुनाले पनि हालसम्म डेंगू नियन्त्रणका लागि गाउँगाउँमा चिकित्सक टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् ।
त्यसैगरी कांग्रेसकै अर्का सांसद डिला संग्राैलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् ।
चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी तीन हजार पाँच सय ८० जना विरामी अस्पतालमा भर्ना भएका छन । त्यसै गरी सो रोगको संक्रमणबाट चार जनाको ज्यान गइसकेको छ ।
बैठकमा नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
