काठमाडौँ । प्रतिनिधि सभा सदस्य भिमशेन दास प्रधानले पर्यटन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर क्षेत्रमा नेपालको राष्ट्रिय गान बजाउनु पर्ने निर्देशन दिएको र नेपाल सरकारले यसमा अनुमोदन गरेकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो कुरा उठाएका हुन् ।
उनले भने ‘आर्यघाटमा मलामीहरु हुन्छन्, मृत शरीर पोलिरहेका हुन्छन् । मलामीहरुको रुवाबासी भइरहेको ठाँउमा किन राष्ट्रिय गान बजाउने ?’
‘राष्ट्रिय गानको आफ्नै परम्परा छ, संस्कृति र मौलिकता छ । राष्ट्रिय गान गाइरहँदा हामी सबै उठ्नु पर्छ । दाहसंस्कार गरिरहेको पुत्र तथा पुत्री उभिने की नउभिने ?’ उनले प्रश्न गरे ।
उनले भने ‘आफ्नै मौलिक परम्परा भएको पशुपतिनाथमा विश्वका करौडौ जनसंख्या धार्मिक स्थलका पर्यटक श्रद्धा गर्न आउँछन् । उनीहरुलाई कसरी नेपालको राष्ट्रिय गान बजिरहेको छ भन्ने थाहा हुन्छ।'
त्यहाँ राष्ट्रिय गानको सम्मान हुँदैन बेइज्जत हुन्छ भन्दै उनले सरकारले यो निर्णयलाई पुनर्विचार गर्नुपर्ने बताए । आर्यघाटमा राष्ट्रिय गान बजाउनुको कुनै औचित्य नरहेको र यसले गर्दा राष्ट्रिय गान प्रति अनादर पैदा हुने उनको दावी थियो ।
उनले भने ‘राष्ट्र गान प्रधानमन्त्री जाने ठाउँमा,राष्ट्रपति जाने ठाउँमा बजाउने हो । सभामुख जाने ठाउँमा बजाउने हो । आर्यघाटमा होइन ।’
