काठमाडौं । नेपालमा सबैभन्दा धेरै भ्रम, अफवाह र गलत सूचना फैलाउने माध्यम बनेको छ फेसबुक र युटुब । मुलुकमा नकारात्मक बातावरण सिर्जना गर्ने र समाजमा उत्तेजना फैलाउने माध्यम बनिरहेछ फेसबुक र युटुब ।
इन्टरनेट आधारित ती सञ्जालको दुरुपयोग गर्नेहरुलाई ‘फेसबुके र युटुबे’ भन्ने चलन छ । फेसबुके र युटुबे शैलीमै कतिपय सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्ने गरेका छन् ।
युट्यूबे शैलीमा कांग्रेसका कतिपय जिम्मेवार सांसदहरुले विगतका बैठकमा ‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा छन्’ भनेका थिए । कतिपयले फेसबुके युट्यूबेकै शैलीमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको नाम बिगारेर अपमानजनक शब्दहरु समेत बोलेका थिए ।
आइतबारको बैठकमा चाहिँ केही सांसद्ले संसदीय मर्यादा नसुहाउँदो, भ्रम र उत्तेजना फैलाउने तथा हावादारी अभिव्यक्ति दिए ।
बैठकमा कांग्रेसकी उमा रेग्मीले मृत्युदण्ड सम्बन्धी कानुन बनाउन सरकारले बेवास्ता गरेको बताइन् । उनले माग गरिन्– ‘कानुन संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नुपर्छ ।’
उमाले बीरगञ्जमा एसिड प्रहार गरिएकी मुस्कान खातुनको प्रसंगमा यो कुरा भनेकी थिइन् । यतिमा मात्र उमा रोकिइनन् । उनले अगाडि भनिन्– ‘लोकतन्त्रवादी देशहरु अमेरिका लगायतमा मृत्युदण्ड छ । सरकारले किन मृत्युदण्डको कानुन ल्याउँदैन ? किन टुलुटुलु हेरिरहेको छ ? किन बुझ्पचाएको छ ? यो सरकारमा नैतिकता छैन ?’
सांसद् रेग्मी विगतमा पनि सांसद् थिइन्, संविधानसभामा पनि थिइन् । उनलाई थाहा हुनुपर्ने हो– नेपालमा मृत्युदण्ड दिने कानुन बनाउन सकिँदैन । मृत्युदण्ड दिने हो भने कानुन नभएर संविधान नै संशोधन गर्नुपर्छ । तैपनि उनले दावीसाथ भनिन्– कानुन संशोधन गरेर भए पनि मृत्युदण्ड दिनुपर्छ ।
काुनन संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ भन्ने सांसद्को विचार लाखौं नेपाली बीच पुग्छ नै । त्यसपछि यो विचार पत्याउनेहरुले भनिठान्नेछन्– मृत्युदण्ड दिन सकिन्छ र खित्रिक्क कानुन संशोधन गरेको भरमा मृत्युदण्ड दिए हुन्छ । अर्थात्, जनता भ्रमित हुने भए ।
उमा रेग्मी पढेलेखेकै सांसदमा दरिन्छिन्, निकै लामो संसदीय अनुभव छ । राजनीतिमा पनि लामो समय सक्रिय छिन् । यत्तिको हैसियत भएकी नेतृले समेत सदन जस्तो महत्वपूर्ण ठाउँमा मृत्दुदण्डको विषयमा स्तरहीन कुरा गर्दा जनतामा कस्तो भ्रम प्रसारण हुन्छ होला ?
मृत्युदण्ड दिन कानुन संशोधन गर्नुपर्छ भन्ने स्तरहीन कुरा गर्ने उमा एक्ली थिइनन् । उनले जस्तै तथ्यहीन कुरा गरे राजपाका सांसद प्रदीप यादवले पनि । मुस्कान खातुनमाथि एसिड प्रहार गरिएको घटनाबारे बोल्दै उनले भने– ‘विद्यमान कानुननका आधारमा अपराधीले चाँडै उन्मुक्ति पाउँछ ।’
प्रदीपको यतिसम्मको कुरा त ठिकै थियो तर अगाडि उनले उदेकलाग्दो कुरा गरे । उनले भने– ‘कानुन संशोधन गरेर अपराधीलाई जन्मकैद दिनुपर्छ या फासी दिनुपर्छ ।’
कानुन संशोधन गरेर फाँसी दिन सकिँदैन भन्ने तथ्य प्रदीपले नबुझेका पनि हुन सक्छन्, उनी नयाँ सांसद् हुन् । तर, सांसद्ले कानुन कसरी बन्छ, कसरी लागू हुन्छ भन्ने बुझेर मात्र बोल्नुपर्ने हो ।
अहिले मृत्युदण्ड दिने व्यवस्था गरियो भने पनि बीरगञ्ज प्रकरणका अभियुक्तलाई मृत्युदण्ड दिन सकिँदैन, किनभने अहिले गरिएको अपराधमा पछि कानुन बनाएर सजायँ दिन सकिँदैन । अर्थात्, भूतप्रभावी कानुन बनाउन सकिँदैन । यति कुरा अरुले नबुझे पनि सांसद् पदमा बसेकाले बुझ्नुपर्ने हो ।
कतिपय सांसद्ले प्रतिनिधि सभामा गलत र हावादारी कुरा मात्र बोल्दैनन्, अतिरञ्जित कुरा समेत बोल्ने गरेका छन् । जस्तो कि आइतबारको बैठकमा सांसद् इकबाल मियाँले अति नै अतिरञ्जित कुरा गरे । उनले पनि बोलेको विषय मुस्कान खातुन नै थियो ।
उनको भनाई थियो– ‘छोरी घरबाट निस्कन्छन् तर सकुशल घर फर्कन्छन् कि फर्कन्दैनन् भन्न गाह्रो छ ।’
आदिकालदेखि नै समाजमा अपराध भइरहेछ । इकबालले भने जस्तो छोरी घरबाट निस्केपछि फर्कन्छन् कि फर्कंदैनन् भनेर चिन्ता गर्नुपर्ने अवस्था नेपालमा छ र ? केही घटना हुँदैमा यो हदसम्म अतिरञ्जित कुरा गर्न मिल्छ र ? सांसद् जस्तो पदमा बसेका मानिसले, अझ त्यो पनि सदन जस्तो जनताको आस्था केन्द्रमा यति अतिरञ्जित कुरा गर्ने इकबाल एक्ला होइनन्, अरु धेरै छन् ।
