काठमाडौं । सांसदहरुले एनसेल करबारे न्यायालयको आदेश छानविन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानियाँ र यज्ञराज सुनुवारले राजश्व असुलीका सम्बन्धमा न्यायलयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानविन हुनुपर्ने माग गरेका हुन् ।
सांसद मोहन बानियाँले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गरे । उनले भने– ‘एनसेलको अर्बौ रुपैपा घोटला भएको छ । राष्ट्रलाई दोहन गर्ने, नियम र कानुनलाई मिचेर दिनमा सूर्यलाई हत्केलाले छेक्ने निकायलाई अत्याधिक मात्रामा कानुनी कारवाही हुनुपर्छ र महाअभियोग प्रस्ताव पास गर्नुपर्छ । ’
सांसद यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब व्यक्ति धनी भएको चिनारी बनेको उल्लेख गर्दै एनसेलका बारेमा पछिल्लो दिनमा सर्वोच्च अदालतले गरेको आदेशबारे संसदले छानविन गर्नुपर्ने माग गरे । सो फैसलाले एनसेल र यसका संञ्चालकलाई मात्रै नभई फैसला गर्ने र वरपरका लागि पनि फाईदा पुगेको भन्ने सर्वसाधरणबीच चर्चा हुन थालेको उनले बताए । न्यायालयको सम्मानका लागि संसदले सो आदेशका बारेमा गम्भिर छानविन प्रक्रिया अघि बढाउन उनले माग गरे ।
सांसदहरुले मुल्यवृद्धि लगायत समसामयिक विषयमा पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालले चाडपर्व नजिकिंदै गर्दा बजार भाउ आकासिएको भन्दै मुल्य नियन्त्रणको लागि अख्तियार गरेको सरकारको योजना सदनलाई जानकारी गराउन माग गरिन् ।
सांसद भरतकुमार शाहले दैनिक ज्यालादारी गर्ने तथा भरियाहरुलाई पनि अनिवार्य प्यान कार्ड लगाउने काम न्यायसंगत र तर्कसंगत नभएको भन्दै सो ऐनप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद भिमसेनदास प्रधानले केही हिमाली जिल्ला बाहेकका जिल्लामा डेंगु संक्रमण बढेको भन्दै महामारी फैलनु अघि नै त्यसतर्फ गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनकुमारी जिसीले एचआईभी संक्रमितहरुको स्वास्थ्य बिमामा समस्या देखिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
सांसद महेश्वरजंग गहतराज अथकले तराई जिल्लामा छाडा छोडिएका पशु चौपायका कारण किसानको बालीनालीमा क्षति पुग्नुको साथै दुर्घटना बढाएको भन्दै छाडा छोड्नेलाई कारवाही गर्न माग गरे ।
सांसद मिनाक्षी झाले भदौ २० गते विरगञ्जमा किशोरिमाथि भएको एसिड आक्रमण र नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा कार्यालय हिंडेकी युवतीको बलात्कारको घटना प्रति सरकारको ध्यानाकर्षण गराउदै महिलाको सुरक्षाको उचित व्यवस्था गर्न माग गरिन् ।
सांसद मैनाकुमारी भण्डारीले सरकारी अस्पतालमा सर्वसाधरणले छिटो छरितो स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
