काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले वैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।
स्वर्गीय विपि कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउदै आएको स्मरण गर्दे उनले विपिले देखाएको बाटोमा हिड्न आग्रह गरे ।उनले भने - 'कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुस्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुस्य साध्य हो । मनुस्य साधन होइन । केही हुदैन विकास हुदैछ । दुईचार वटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाईदैन । प्रत्येक मनुस्य साध्य हो । त्यो विपिको मान्यता छ ।'
विश्वभरमा नै अहिले विकासको वैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।
उनले भने - 'विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएचडिलाई, डाक्टरलाई, बुद्धिजीवीलाई , विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।' विपीले सधै ‘चहराईरहेका घाउमा मल्हम लगाउन, गाउमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन ’भन्दै आएको बताउँदै उनले विकासका बारेमा विपीले देखाएको वैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा बताए ।
सांसद रंगमति शाहीले शान्तिऽ सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् । साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेल संग कर असुली गर्न नसकेको आरोप पनि उनले लगाइन् । उनले भनिन - 'जनताको माझ के सन्देश लिएर जाऊ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् जनताले टिकट पाएका छैनन भनेर जाम कि ? मेलम्चीको पानी बगर काठमाडौंका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम ?'
