काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । दिउसाे १ बजे बस्ने बैठककाे कार्यसूची यस्ताे छ ।
बैठकमा सभापति तारा देवी भट्टले दिगो विकास तथा सुशासन समितिको “आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक टेबुल गर्ने कार्यसूची छ ।
गृहमन्त्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धि सभा समक्ष पेस गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “प्रशासकीय अदालत विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “नेपाल मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
गृहमन्त्री रामबहादुर थापाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।“नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकलाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रहरी समायोजन विधेयकमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “प्रहरी समायोजन विधेयकलाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकाे छ ।
