काठमाडौं । राष्ट्रिय सभामा डेंगूको विषय उठेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगू संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधारण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले ‘सरकारले राष्ट्रिय इर्मरजेन्सिको’ रुपमा लिनुपर्ने बताए । उनले भने– ‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’ उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगूको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धीत निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाए । उनले भने – ‘के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।’ उनले तीन सय ५० रुपैयाँ मात्रै पर्ने डेंगू जाँच किटको निजी अस्पतालहरुले दुई हजार ६ सय रुपैया सम्म लिने गरेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न दुर्ई हजार ६ सय रुपैया सम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘एक हजारमा गरेनौ भने कारवाही गर्छौ’ भनेको उल्लेख गर्दै उनले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गरे । उनले भने– ‘वास्तवमा यसको मुल्य तीन सय ५० रुपैया पर्ने रहेछ । तीन सय ५० नै थप्दा पनि सात् सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै एक हजार रुपैयाको छुट दिन खोजिरहेको छ ।’ उनले डेंगू परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारी बारे सदनलाई जानकारी गराउन माग गरे । साथै उनले राष्ट्रिय सभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।
