काठमाडौं । देशव्यापी फैलिएको डेंगूको विषयमा प्रतिनिधि सभा बैठकमा चर्को आवाज उठेपछि सभामुख कृष्णबहादुर महराले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । बैठक सुरु भएपछि शून्य समय र विशेष समयमा सांसदहरुले डेंगू संक्रमणले महामारीको रुप लिएको भन्दै सांसदहरुले आवाज उठाएका हुन् ।
पूर्वी नेपालबाट सुरु भएको डेंगू अहिले देश भर फैलिएको छ । डेंगुबाट हजारौं संक्रमित भएका छन् भने केहीले ज्यान गुमाइसकेका छन् ।
यस्तो अवस्थामा डेंगु नियन्त्रणका लागि सरकारले ठोस कदम चालोस भनी सांसद्हरुले आवाज उठाएका हुन् । शून्य समयमा सांसद कृष्ण गोपाल श्रेष्ठले भने– ‘डेंगू, डेंगू, डेंगू भनेर कराउँदा कराउँदै थाकिसकियो । सभामुख महोदय, यो डेंगूको सवालमा सरकार बोल्दैन । अमेरिकाको सरकारले बोल्दियो सभामुख महोदय, यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ?’
मन्त्री डेंगु पीडित, आँखा बिशेषज्ञ पिडित भन्दै उनले थपे– ‘अब हामी कति जना सांसद डेंगु पीडित भएपछि सरकारको ध्यान जाने हो ? डेंगु नियन्त्रणका लागि अविलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलीङ गरियोस् । तत्काल स्वस्थ्य मन्त्रीलाई बोलाएर सरकारको आधिकारिक धारणा राख्न लगाइयोस् । हैन भने मेरो विरोध रहनेछ सभामुख महोदय ।’
शून्य समयको एक मिनेट समय सकिएर माइक काटिँदा पनि कृष्णगोपालले बोल्न छाडेनन् । त्यसपछि सभामुखले भने ‘माननीय सदस्य, अहिले अरु सदस्यको कुरा सुनौं, पछि म यो बिषयमा बोल्छु ।’
अर्का सदस्य खगराज अधिकारीले डेंगु प्रकोप हो कि माहामारी भन्दै प्रश्न गरे । यो विषयमा सरकारले धारणा ल्याउनुपर्ने उनले बताए । शून्य समय सकिएपछि सभामुख महराले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देश गरे । सभामुखले भने– ‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँछु । सदनलाई यथासीघ्र जानकारी गराउन निर्देशन दिन्छु ।’
