काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्याबारे सम्बन्धीत मन्त्रालय र सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।
सिसडोलबासीले भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाला निकायसंग छलफल गर्न लागेको हो ।
केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पुर्वाधार निर्माण र क्षतिपुर्तिको व्यवस्था गरि भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए ।
समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाडौं महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।
समितिको बिहीबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पुर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भईरहेको ढिलाईबारे सम्बन्धीत निकायसंग छलफल गरि सम्बन्धीत निकायलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।
समितिले अगामी असाेज १ गते बल्खु–दक्षिणकाली सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि बिहीबारका लागि पूर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ ।
