काठमाडौं । प्रतिनिधि सभा बैठकको बिशेष समयमा नेकपाकी सांसद शान्ता चौधरीले सरकारका कामको प्रशंसा गरिन् । उनले मुक्त कमैयाको बारेमा पनि बोलिन् ।
उनले भनिन् – ‘सरकारले निकै धेरै काम गरेको छ । जति धन्यवाद दिएपनि सायदै कम हुन्छ । अरुले के भन्छन् थाहा छैन तर यो देशको भलो चाहाने सबैले सरकारको प्रशंसा गरेको मैले पाएको छु ।’
कमैया मुक्त भएको दुई दशक भइसक्दा पनि कमैयाहरुको पुर्नस्थापना हुन नसकेको उनले बताइन् । उनले भनिन् – ‘मुक्त कमैया भन्छौँ हामीले तर कमैयाहरु स्वयम् आफै मुक्त भएको अनुभुति गर्न सक्नु भएको छैन ।’
चाडपर्वहरु भित्रिदै छन् त्यो समुदायको अवस्था के छ होला ? उनले प्रश्न गरिन् । ‘म यहाँ भित्र पनि सुन्छु बोलेको हामी हरेक बिषयमा बोल्छाैँ । हरेक बिषयमा सरकारको ध्यानाकर्षण गराउँछौ । तर आज जसले श्रम गरेर, दुख गरेर र मेहेनत गरेर खान्छ जो यो देशको साँच्चिकै श्रमजिवि वर्ग हो त्यो समुदायको बारेमा बोल्न हामी किन कन्जुसाई गरिरहेका छौ ? उनले प्रश्न गरिन् ।
कमैयाहरु बाँसका लागि, गााँसका लागि तड्पी रहेको बषौँ भएको भन्दै उनले अहिले पनि त्यो समुदाय प्रति कसैको ध्यानाकर्षण हुन नसकेको बताइन् ।
सबै बिषयमा कुरा उठ्दा त्यो समुदायलाई नसम्झिएकोमा दुख लागेको भन्दै उनले भनिन् – ‘कमैयाहरुको पुनस्थापना हुन नसक्दा, आज कम्लरिहरुको पुनस्थापना हुन नसक्दा म आफैलाई दुख लाग्छ’ ।
यो देशको सबै भन्दा ठुलो मुद्धा गरिबि भएको भन्दै उनले प्रतिपक्ष र सत्तापक्ष दुबैले यो समुदायलाई सम्झिनु पर्ने बताइन् ।
