विराटनगर । प्रदेश नं १ को प्रदेश सभा अन्तर्गत आज बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेस गरेका थिए ।
उनले सो विधेयकले प्रदेशको विकासमा कोशेढुङ्गा सावित हुने भन्दै विकास र समृद्धिको यात्राको बाटो खुल्ने बताए ।
विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरेकी थिइन् ।
वैज्ञानिक व्यवस्थापनका नाममा वन सखाप हुँदै बैठकको प्रारम्भमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले वैज्ञानिक वनका नाममा वन सखाप भइरहेकाले यसको निगरानी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले दक्षिणी क्षेत्रका जनताका लागि कटान गरिएका रुख वन माफियाका हातमा पर्ने गरेकाले वन सखाप हुने चिन्ता व्यक्त गरे ।
सदस्य उषकला राईले प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा विभेद भएकाले पहाडी क्षेत्रमा बसोबास गर्ने जनताका चाहना र आवश्यकता पूरा नहुने कुरामा जोड दिइन् । अर्का सदस्य वसन्तीदेवी यादव थारुले यादव जातिले मनाउने जितीया पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग गरिन् । सदस्य राजकुमार ओझाले प्रदेशसभामा खाँदिएर कहिलेसम्म बस्ने भन्दै सभामुखसँग प्रश्न गर्दै व्यवस्थित बनाउन कुर्सी र मेचको राम्रो प्रबन्ध गर्न माग गरे । उनले चाडपर्वका सन्दर्भमा प्रदेशभरिका कच्ची सडकमा देखिने खाल्डा पुर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
