काठमाडौं । एक घन्टाको गलफत्तीपछि प्रतिनिधि सभाको आजको बैठक रोकिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएर अवरोध थालेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिएका थिए ।
खाँडले बाँकेको खजुरामा भएको कांग्रेसको कार्यक्रममा भएको हमलाबारे बोल्दै सो घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । घटनामा कांग्रेसकी सभापति किरण कोइराला लगायत घाइते भएका थिए । सो घटना सम्बन्धमा खाँडले स्पष्टिकरण मागेका थिए ।
खजरामा हलभित्र कार्यक्रम भएको र सत्तापक्षको अरिंगाल जस्ता कार्यकर्ताले हमला गरेको खाँडले बताए ।
घटना सम्बन्धमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग खाँडले राखे । गृहमन्त्रीको जवाफले चित्त बुझे सदनको कारवाही अगाडि बढ्ने नत्र नबढ्ने खाँडले घोषणा गरे ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापाले रोष्ट्रममा उभिएर जवाफ दिए ।
उनले भने– ‘घटना सम्बन्धमा छानविन भइरहेको छ । दोषीलाई कारवाही हुनेछ । शान्तिपूर्ण कार्यक्रममा शान्तिसुरक्षाको पूर्ण प्रत्याभूतिका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ ।’
खजुरा घटनालाई राजनीतिक रुपमा नलिन पनि गृहमन्त्रीले आग्रह गरे ।
त्यसपछि कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई प्रश्न गरेका थिए । पहिलो प्रश्न खाँडले नै गरे ।
उनको प्रश्न थियो– ‘बाँकेको घटना ज्यादै नै संवेदनशील छ । गृहमन्त्रीजीले राजनीतिकरण नगर्न भन्नुभयो । तर, हाम्रो आरोप छ– सरकारले नै राजनीतिकरण गर्यो ।’
उनले थपे– ‘घटना सम्बन्धमा स्थानीय प्रशासनले उजुरी समेत दर्ता गर्न मानेको छैन ।’
राजपाकी सरिता गिरीले सोधिन्– ‘सिराहाको लाहानमा पनि सांघातिक हमला भएको छ ।’
बाँके घटनामा मात्र केन्द्रीत भएर प्रश्न गर्नु भन्दै सभामुखले निर्देश गरे । तर, सरिताले विषय बाहिर गएर बोल्न थालिन् । त्यसपछि सभामुखले सरिताको माइक काटिदिए र कांग्रेसका दिलेन्द्रप्रसाद वडुलाई प्रश्न सोध्न समय दिए । वडुले राष्ट्रिय जागरण कार्यक्रम अन्र्तगत खजुरामा कार्यक्रम गरिएको भन्दै सो घटनालाई सरकारले नै राजनीतिकरण गरेको भने ।
कांग्रेसकी पुष्पा भुषाले खजुरा घटना सम्बन्धमा किटानी जाहेरी दिए पनि कारवाही किन अगाडि नबढाइएको भनी सोधिन् । कांग्रेसकै अमरेश सिंहले देशमा लोकतन्त्र छ कि छैन भनी सोधे । उनले गृह प्रशासनलाई नेकपा प्रहरी भने पनि हुने दावी गर्दै प्रहरीकै अगाडि खजुरा घटना भएको दावी गरे ।
कांग्रेसका अर्का सांसद् तेजुलाल चौधरीले बाँके घटना सम्बन्धमा प्रजिअले दिएको सार्वजनिक अभिव्यक्ति उपर उनलाई कारवाही गर्नुपर्ने बताए । कांग्रेसका प्रकाश रसाइली स्नेहीले किटानी जाहेरी दिइएका व्यक्तिहरुलाई कारवाही हुन्छ कि हुँदैन भनी सोधे ।
कांग्रेसका रामबहादुर विष्टले पञ्चायतकालमा सरकारले मण्डलेलाई अगाडि सारेजस्तै अहिलेको सरकारले अरिंगाल अगाडि सारिएको बताए ।
कांग्रेसकै पार्वता डिसी चौधरीले कम्युनिष्ट सरकारका अरिंगालहरुले खजुरामा हमला गरेको दावी गरिन् । अरिंगालहरुलाई कारवाही हुनुपर्ने उनले बताइन् । कांग्रेसकै हिरा गुरुङले पनि अरिंगालको चर्चा गरिन् । उनले सोधिन्– अरिंगाल पठाएर के गर्न खोजेको ? कांग्रेसका गगन थापाले बाँकेको घटनाका दोषीलाई कारवाही नभएसम्म सदनको कारवाही अवरुद्ध गर्ने नभनौं, किटानी जाहेरीमा नाम परेकाहरुलाई कारवाही गर्ने आश्वश्त पारे मात्र पनि पुग्छ भने ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापा जवाफ दिन रोष्ट्रममा गए । उनले भने– ‘बाँकेको घटनालाई सरकारले सामान्य रुपमा लिएको छैन । सरकार गम्भीर रुपमा यो घटनालाई लिन्छ ।’
उनले भने– ‘नेकपा या सत्ताधारी पार्टीले निर्णय गरेर यो घटना भएको होइन । घटनामा नेकपाका कार्यकर्ता संलग्न हुनसक्छन् तर नेकपाको नीति होइन । कांग्रेसको जनजागरण विथोल्ने नीति पनि होइन, निर्देशन पनि होइन ।’
उनले भने– ‘म फेरि पनि भन्छु, दोषीलाई कडा कारवाही हुन्छ । किटानी जाहेरीमा परेका व्यक्तिहरु या अरु कसैलाई पनि कानुनको कठघरामा ल्यान्छ, पक्राउको निर्देशन दिइएको छ ।’
किटानी जाहेरी अनुसार नै कानुनको कठघरामा उभ्याइने गृहमन्त्री थापाले भने । गृहमन्त्रीको जवाफपछि सभामुखले सोधे– ‘गृहमन्त्रीको जवाफ चित्त बुझ्यो होला ।’ तर, कांग्रेसका सांसद्हरु मानेनन् । आआफ्नो ठाउँमा उभिएर वैठक रोकिदिए । त्यसपछि सभामुखले कांग्रेसकी पुष्पा भुषाललाई बोल्ने समय दिए ।
पुष्पाले भनिन– ‘किटानी जाहेरी तत्काल दर्ता गर्न निर्देशन नदिएसम्म यो बैठक अगाडि बढ्न सक्दैन ।’ गृहमन्त्रीले ‘घटनालाई गम्भीरतासाथ लिएको’ भनिसकेपछि त्यसलाई मानेर वैठक अगाडि बढाउन सभामुख महराले आग्रह गरे ।
त्यसपछि सभामुखले दस मिनेटका लागि बैठक स्थगित गरे ।
