काठमाडौं । प्रतिनिधि सभामा आज जे भयो, ठ्याक्कै त्यस्तै भएको छ राष्ट्रिय सभामा । प्रतिनिधि सभाको बैठक जसरी र जुन मुद्दाले अवरुद्ध भयो, राष्ट्रिय सभामा पनि सोही मुद्दाले बैठक अवरुद्ध भएको छ ।
प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै कांग्रेसले प्रश्न उठाएपछि गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए । कांग्रेस सांसद्हरुले थप प्रश्न गरेका थिए । गृहमन्त्री थापाले पुन जवाफ दिएका थिए ।
राष्ट्रिय सभामा पनि हुबहु त्यस्तै भएको छ । जवाफ दिने गृहमन्त्री उही थिए तर अवरोध गर्ने र प्रश्न सोध्ने सांसद्हरु भने फरक थिए ।
राष्ट्रिय सभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उभिएर बिरोध गरेको थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसद बद्री पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले बाँकेको खजुरामा कांग्रेसको कार्यक्रममा आक्रमण भएको घटनाबारे बोल्दै सो घटनाका दोषीलाई कारवाही माग गरे ।
उनले भने– ‘सत्तारुढ पार्टीले कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएको थियो । त्यही अनुसार आक्रमण भएको छ ।’
खजुरा घटनामा किटानी जाहेरी दर्ता नगरेसम्म र अभियुक्तहरुलाई कारवाही गर्ने विश्वास नदिलाएसम्म सदन चल्न नदिने पाण्डेले बताए ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापाले खजुरा घटनामा संलग्न जो सुकैलाई नियन्त्रणमा लिई कानुन अनुसार कडा कारवाही गर्न दृढ रहेको बताए । प्रतिनिधि सभामा जे विचार गृहमन्त्री थापाले राखेका थिए, राष्ट्रिय सभामा पनि ठ्याक्कै त्यस्तै विचार राखे ।
गृह मन्त्रीले आफनो भनाई राखेपछि कांग्रेस सांसद राधेश्याम अधिकारीले प्रश्न गरे– ‘नेपाली कांग्रेसको जिल्ला कार्यसमितिबाट घटनाको सम्बनधमा जाहेरी परेको छ कि छैन ? अहिलेसम्म जाहेरी दर्ता भएको छ कि छैन ?’
कांग्रेसकै अनिता देबकोटाले गृह मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै अहिले सम्म किटानी जाहेरी दर्ता गर्न स्थानीय प्रहरीले नमानेको बताइन् ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री थापाले बाँके घटनालाई राजनितिक रुपमा नलिई अपराधिक घटनाको रुपमा लिएको बताए । तीन जना दोषी पक्राउ गरेको र अन्यको तिब्र रुपमा खोजी भइरहेको बताए ।
मन्त्री थापाले जावाफ दिइसकेपछि कांग्रेसका सुरेन्द्र पाण्डेले भने– ‘मन्त्रीज्यूले सुरुमा पनि जवाफ दिनुभो र पूरक प्रश्नको पनि जवाफ दिनु भो तर उहाँले पीडितको तर्फबाट दिइएको किटानी जाहेरी दर्ता गर्ने र तिनलाई कारवाहीको दायरामा ल्याइन्छ भन्न सक्नुभएन ।’
त्यसपछि कांग्रेस सांसद्हरुले बसेको ठाउँबाट उभिएर अवरोध थाले । अध्यक्षले बैठकमा अवरोध नगर्न बारम्बार अनुरोध गरे । तर, कांग्रेस सांसद्हरुले मानेनन् ।
राष्ट्रिय सभामा जे भयो, प्रतिनिधि सभामा जस्तै भयो । तर, केही फरक पनि भयो । प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो तर राष्ट्रिय सभा बैठक भने ३० मिनेटका लागि स्थगित गरियो ।
तर, १० मिनेट र ३० मिनेट भनिए पनि दुवै सदनको बैठक निर्धारित समयमा बसेन ।
