प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।
सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे ।
संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धि अन्तरक्रिया उनले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनेको स्मरण गरे । त्यसो नगर्न सांसद र संसदीय समितिहरुलाई उनले ध्यानाकर्षण गराए ।
‘मलाई प्रधानमन्त्री आफैले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ’ सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्दै भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नुभयो ।’
सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्नुपर्ने स्पष्ट पारे ।
सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिए ।
उनले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई कडा निर्देशन दिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराए ।
