काठमाडौं । अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको थियो ।
राष्ट्रियसभाको आजको बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्षसँग समय मागेर नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले बाँके घटनाको विषयलाई लिएर हिजोको बैठक अवरुद्ध हुन पुगेको बताइन् । हिजो नै प्रहरीले जाहेरी दर्ता गरेकाले आजको बैठक सञ्चालन गर्न दिएको उनले बताइन् ।
आइतबारको बैठकमा कांग्रेसले बाँके जिल्लाका सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।
गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफ दिएपनि चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै कांग्रेसले आइतबारको दास्रो बैठकसमेत अवरुद्ध गरेको थियो ।
सो घटनाका सम्बन्धमा प्रहरीले जाहेरी दर्ता गरेकाले आजको बैठक भने कांग्रेसले सञ्चालन गर्न दिएको हो ।
बाँके जिल्लाको खजुरामा यही भदौ २६ गते नेपाली काङ्ग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी आक्रमण भएको थियो । सोही विषयलाई लिएर हिजो संसद् अवरुद्ध भएको थियो । रासस
