काठमाडौं । बाँके घटनाको विषयले प्रतिनिधि सभा बैठकमा विवाद भएको छ । यहि विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ ।
प्रतिनिधि सभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् । हिजो यहि जाहेरी नलिएर सरकारले नै प्रतिपक्षीलाई बैठक अवरोध गर्ने अवस्था बनाएको उनले आरोप लगाइन् ।
कांग्रेस जिल्ला सभापति किरण कोइरालासहित ६० जना नेता कार्यकर्तामाथिको नियोजित रहेको उनको भनाइ थियो ।
त्यसपछि सभामुखसँग समय लिएर बोल्दै नेकपा सांसद नन्दलाल रोकायाले बाँकेमा केही युवाले कांग्रेसको कार्यक्रममा गरेको आक्रमणको घटनालाई राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाए ।
बाँकेमा भएको घटनालाई बैठकमा बढाइचढाइ गरिएको भन्दै उनले वडा अध्यक्षलाई मुद्दा लगाउने कुरा स्वीकार गर्न नसकिने बताए ।
उनले कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौ भनेपछि कांग्रेसका सांसदहरुले आपत्ती जनाउदै आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए ।
उनले भने – ‘हामीले सत्य कुरा स्वीकार्छौ, असत्य कुरा स्वीकार गर्दैनौ, कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि गर्छौँ, दोषी को हो पत्ता लगाएर कारबाही गर्नुपर्छ ।’
सांसद रोकायको भनाइको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले मैले दिन्छु भनेर बस्न अाग्रह गर्दापनि सांसदहरुले नाराबाजी गरेका हुन् ।
कांग्रेसले करिब आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले आगामी असोज १ गते विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको भोषणा गरे ।
