काठमाडौं । प्रतिक्षका सांसद्हरु क्षणिक अावेगमा अाउँदा प्रतिनिध सभा बैठक अवरुद्ध भएकाे छ । संसदीय गतिराेध खाेल्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति भइसकेकाे थियाे । यसका लागि प्रधानमन्त्री केपी शर्मा अाेलीले अाइतबार राति प्रतिपक्षी नेताहरुसँग बालुवाटारमा वैठक गरेर सहमति पनि गरिसकेका थिए । बिहान संसद् सचिवालयमा बैठक अवरुद्ध नगर्ने, संसदीय कारवाही अगाडि बढाउने भनेर सहमति भइसकेकाे थियाे ।
तर, काग्रेस सांसद्हरुकाे क्षणिक अाक्राेश र अावेगका कारण बैठक अवरुद्ध हुन पुग्याे ।
'बैठकमा अवराेध नगर्ने भन्ने सहमति साथ सांसद्हरु प्रतिनिधि सभा र राष्ट्रिय सभा भवनमा प्रवेश गरेका हुन्'- नेकपाका एक सांसद्ले सनराइज खबरलाई बताए- 'उहाँहरु अनावश्यक रुपमा अावेग र अाक्राेशमा अाएर अचानक बैठक अवरुद्ध गर्नुभयाे ।'
भएकाे के थियाे ?
बैठक सुरु हुनासाथ कांग्रेसकी सचेतक पुष्षा भुषालले खजुरा घटनामा संलग्न भनिएका बाँकेको खजुरा नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लविरुद्ध किटानी जाहेरी दर्ता गरेकाले कांग्रेसले आजको बैठक चल्न दिने बताइन्।
त्यसपछि बाेले सत्तापक्षका सांसद् नन्दलाल राेकाया । उनले बाँकेमा नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण नगरेको दावी गरे । उनले दुईतीन जना युवाले कांग्रेसको कार्यक्रममा गरेको आक्रमणलाई राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाए ।
रोकायाले वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रममा कुनै धक्कामुक्का नभएको दाबी पनि गरे । वडाध्यक्ष मल्ल निर्दोष रहेको भन्दै उनले बाँके घटनालाई लिएर कांग्रेसले आन्दोलन गरे नेकपाले पनि आन्दोलन गर्ने बताए । ‘वडाध्यक्षलाई मुद्दा लगाउने कुरामा हामी सहन सक्दैनौं । यदि कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं’ रोकायाले भने ।
संसदीय छानविन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने रोकायाको भनाइ थियो । उनले सत्य कुरा मात्र स्वीकार गर्न सकिने जिकिर गर्दै असत्य कुरा कुनै हालतमा नस्वीकार्ने बताए ।
त्यसपछि कांग्रेसका सांसदहरुले आ–आफ्नो सिटबाट उठेर उभिए । उनीहरु बेल घेराउ गर्न पुगे । कांग्रेस सांसदहरुले आधा घण्टाभन्दा धेरै समय बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख कृष्ण बहादुर महराले बैठक स्थगित गरे ।
कांग्रेसकाे जिरह
कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले भने फरक दावी गरेका छन् । सनराइज खबरसँग कुरा गर्दै उनले नन्दलालकाे अभिव्यक्तिका कारण बैठक अवरुद्ध नगरिएकाे बताए । उनले भने- 'सदनमा घटना सम्बन्धमा गृहमन्त्रीले जवाफ दिने सहमति सरकारले पालना गरेन । न त गृहमन्त्रीले जवाफ दिनुभयाे । न उहाँले काेही प्रतिनिधिलाई जवाफ दिन लगाउनुभयाे ।'
सहमति अनुरुप सरकार पटक्कै गम्भीर भएकाे देखिएन- खाँडले भने । सरकार गम्भीर नहुने हाे भने संसदीय कारवाही कहिल्यै सहज रुपमा अगाडि बढ्न नसक्ने उनले बताए ।
तर, खाँडले त्यस्ताे दावी गरे पनि राष्ट्रिय सभा वैठकमा भने अवराेध भएन । प्रतिनिधि सभा भन्दा पहिले नै राष्ट्रिय सभा बैठक भएकाे थियाे । सहमति अनुसार नै राष्ट्रिय सभा बैठक चलेकाे थियाे ।
नन्दलाल बाेलिरहँदा कांग्रेस सांसद्हरुले हाेहल्ला थालिसकेका थिए । उनीहरुले हाेहल्ला गरिरहँदा सभामुख महराले नन्दलाल बाेलिसकेपछि अाफूले केही कुरा राख्ने भनेका थिए । स्राेत अनुसार सभामुखले खजुरा घटना सम्बन्धमा छानविन गरेर कारवाही अगाडि बढाउन सरकारलाई रुलिङ गर्ने याेजना थियाे ।
तर , बैठकमा अवराेध भएकाले सभामुखले रुलिङ गर्नै पाएनन् । नन्दलालकाे अभिव्यक्तिमा कांग्रेस सांसद्हरु अाक्राेशित हुँदा खुलिसकेकाे अवराेध पनि खुलेन ।
