काठमाडौं । सिंहदरबारमा निर्माण हुने संघीय संसद भवनको बुधबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिए ।
केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने चेतावनी दिए । उनले भने– ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आईपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । डेमोक्रेशीमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुदैन तबसम्म सरकार बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’
डेढ वर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनले अझै गतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । भ्रष्टाचारमा शून्य सहनशिलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै प्रधानमन्त्री ओली सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए ।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ प्रति पनि असन्तुष्टी जनाए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई उनले निर्देशन पनि दिए । उनले भने– ‘निर्माण कार्यमा बिलम्ब हुने गरेको छ । यो बिलम्ब मान्य हुदैन । जति समय भनिएको छ त्यो समय भित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुदैन । गुणस्तरीय हुनुपर्छ । कबुल भन्दा पछि पैसा थप्ने काम हुदैन । धेरै बिग्रेका परिपाटीहरु छन् । त्यसलाई मानिदैन ।’
प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको पनि बताए । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका खेल्न सकिने बताए ।
भवन तीन वर्षभित्र निर्माण पूरा गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शिलान्यास लगत्तै निर्माण कार्य सुरु हुने छ । नयाँ संसद भवनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद् सचिवालयका तीन वटा भवन रहने बताइएको छ ।
आफ्नै भवन नहुँदा लामो समयदेखि संघीय संसदका दुवै सदनको बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । भवन निर्माण भएपछि बैठक आफ्नै भवनमा बस्नेछ । जसबाट भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।
