काठमाडौं । सोमबार क्षणिक आवेगमा अवरुद्ध भएको प्रतिनिधि सभा बैठक बुधबार पनि केही बेर नाटकीय पाराले अवरुद्ध भएको छ । नाटकीय ढंगले नै अवरोध खुलेको छ ।
सोमबारको अवरोधको रहलपहल अवरोधलाई कांग्रेसले बुधबारको बैठकमा पनि निरन्तरता दियो । र, सरकारले जवाफ दिएपछि कांग्रेसको अवरोध सकिएको छ ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद्हरु आआफ्नो ठाउँमा उभिएर बेठकमा अवरोध गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले दिलेन्द्रप्रसाद वडुलाई समय दिए ।
वडुले बाँकेको खजुरामा काग्रेसको सभामा सत्तापक्षीय कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै त्यस विषयमा आइतबार सदनमा बोल्दै गृहमन्त्रीले घटनाको राजनीतिकरण नगर्न आग्रह गरेको स्मरण गरे । वडुले भने– ‘तर, सरकारले नै घटनाको राजनीतिकरण गरेको छ ।’ उनले खजुरा घटनामा दोषीलाई कारवाही गरिने स्पष्ट प्रतिवद्धता सरकारको तर्फबाट आउनुपर्ने बताए ।
वडुले बोलिसकेपछि कांग्रेस सांसद्हरुले पुन उभिएर अवरोध गरे पनि सभामुखले सरकारको तर्फबाट विचार राख्न कानून मन्त्री भानुभक्त ढकाललाई बोल्न समय दिए । ढकालले सत्तापक्ष र प्रतिपक्ष बीच प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बसेको र सो बैठकले सहमति गर्ने निर्णय गरेको बताए । सो बैठकमा खजुरा घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता सरकारले गरेको पनि बताए ।
गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कोही उम्कँदैनन् भन्दै दोषीलाई कारवाही गर्ने सरकारको प्रतिवद्धतामा विश्वाश गर्न मन्त्री ढकालले आग्रह गरे ।
त्यसपछि कांग्रेसका सांसद्हरु आआफ्नो ठाउँमा बसे । बैठक अगाडि बढ्यो ।
सोमबारको त्यो बैठक
सोमबार प्रतिनिधि सभाको अवरोध खुल्ने सहमति भइसकेको थियो । सो वैठकको सुरुमा कांग्रेस सांसद् बालकृष्ण खाँडले विचार राखेका थिए । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए । उनको जवाफ पछि नेकपाका बाँके खजुरा क्षेत्रका सांसद् नन्दलाल रोकायाले खजुरा घटनामा निर्दाेषलाई कारवाही गर्न खोजिएको भन्दै आपत्ति जनाए । त्यसो गरिए आन्दोलन गर्ने समेत उनले भने ।
त्यसपछि पूर्व सहमति तोड्दै कांग्रेस सांसद्हरुले वेल घेराउ गरेर बैठक अवरुद्ध गरेका थिए । तर, सो दिन राष्ट्रिय सभाको बैठक भने पूर्व सहमति अनुसार नै चलेको थियो ।
नाटकीय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ उभिएर अवरोध थालेका कांग्रेस सांसद्हरु आफ्ना सांसद दिलेन्द्रप्रसाद वडु बोल्न थालेपछि सिटमा बसेका थिए । तर, वडु बोलिसक्नासाथ उनीहरुले उभिएर अवरोध गरे ।
त्यसपछि सभामुखले मन्त्री भानुभक्त ढकाललाई बोल्न समय दिएपछि कांग्रेस सांसद्हरु बसेका थिए । भानुभक्तले खजुरा घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसपछि बैठक अगाडि बढ्यो । बैठकको सुरुमा गरिएको अवरोध र उठ्ने बस्ने शैलीले नै बैठकको अवरोध खुल्ने संकेत मिलेको थियो । सामान्यतया बैठकमा अवरोध गर्दा प्रतिपक्षी सांसद्हरु निरन्तर उभिन्छन्, कहिले उठ्ने कहिले बस्ने गर्दैनन् ।
