काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगूको प्रकोपलाई आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको बताएका छन् । डेंगूको अवस्थाबारे प्रतिनिधि सभामा जानकारी गराउदै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
नेपालमा अन्य मुलुकमा जस्तो जटिलतायुक्त डेंगू रोग अत्यन्त न्यून रुपमा मात्र देखिएको भन्दै उनले मृत्युदर अत्यन्त न्यून भएकाले नै आपतकालीन अवस्थाको घोषणा गर्नपर्ने हदमा नरहेको जानकारी गराएका हुन् । यो रोग नेपालको मात्र समस्या होइन साधन स्रोतले सम्पन्न विकसित मुलुकको लागि पनि यो रोग नियन्त्रणकाे ठूलो चुनौतिको रुपमा रहेको उनले बताए । उनले भने–‘हाम्रो स्वास्थ्य प्रणाली यस्ता रोगको कुशल नियन्त्रण गर्न सक्षम छ ।’
नेपालमा पहिलो पटक ०६१ सालमा चितवनमा देखिएको डेंगू अहिले ५६ जिल्लामा देखिइसकेको उनले बताए । साउन १ देखि भदौ २३ सम्ममा पाँच हजार ९५ जनामा डेंगू संक्रमण देखिएको र हालसम्म ६ जनाको निधन भएको मन्त्री यादवले जानकारी गराए ।
डेंगू रोग नेपालका लागि मात्र नभएर सम्पूर्ण विश्वका लागि चुनौती बनेको भन्दै उनले भने–‘विश्वव्यापी डेंगू संक्रमण तिब्र बनेको छ । विगत ५० वर्षमा डेंगू संक्रमण ३० गुणा बढेको छ । विश्वको आधाभन्दा धेरै जनसंख्या यो रोगको जोखिममा छ ।’
एक सय २८ भन्दा धेरै देशका तीन दशमलव ९ अर्ब मानिस यो रोगको जोखिममा रहेको उनले बताए । ‘एक अध्ययन अनुसार हरेक वर्ष ३९ करोड मानिसमा डेंगू संक्रमण हुन्छ, २० हजारभन्दा धेरैको निधन हुन्छ’–उनले भने ।
विश्व स्वास्थ्य संगठनले डेंगूलाई विश्वका लागि दश प्रमुख स्वास्थ्य खतरामध्ये एक मानेको भन्दै उनले भने– ‘अन्तराष्ट्रिय आवागमन, बसाई सराई, अव्यवस्थित सहरीकरण, व्यापार, जलवायु परिवर्तन, बढ्दो तापक्रमले गर्दा आगामी दिनमा यो रोगको थप विस्तार हुने सम्भावना देखिएको छ ।’
यो वर्ष डेंगूको संक्रमण विगत वर्षभन्दा झन् कडा रुपमा विश्वभर देखिएको भन्दै मन्त्री यादवले सिंगापुरमा ११ हजार, बङगलादेशमा ७० हजार, श्रीलंकामा ३४ हजार, थाइल्याण्डमा ५५ हजारभन्दा धेरै मानिसमा डेंगू संक्रमण देखिएको छ । त्यसैगरी मलेसियामा ८२ हजार, फिलिपिन्समा दुई लाख ५० हजारभन्दा धेरैलाई डेंगू संक्रमण भएको छ बताए ।
यो रोगबाट बच्न हालसम्म कुनै औषधि वा पूर्ण रुपमा प्रभावकारी खोप नभएकाे भन्दै उनले यो रोगबाट बच्ने उपयुक्त उपाय लामखुट्टेबाट बच्नु पर्ने बताए । डेंगू संक्रमित जिल्लामा लामखुट्टेको लार्भा निर्मूल पार्ने योजना सञ्चालन गरिएको, जनचेतना फैलाइएको, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले तीनै तहका सम्पूर्ण सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको उनले भन्दै डेंगू प्रकोप नियन्त्रणका लागि आवश्यक सम्पूर्ण कदम चालिने बताए । उनले भने–‘प्रभावित क्षेत्रमा ’सबैको साथ, डेंगूको नाश’, ’हप्ताको एक दिन एक घन्टा हुँदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ नाराका साथ घरदैलो अभियान सञ्चालन गरिएको छ ।’
