काठमाडौं । संघीय संसद्को चौथो अधिवेशन बिहीबार समाप्त गर्ने उच्चस्तरीय राजनीतिक सहमति भएको छ । स्रोत अनुसार बिहीबारबाट अधिवेशन समाप्त हुनेछ ।
अधिवेशनको अन्तिम दिन भएकाले बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उच्च स्रोतको दावी छ ।
बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक राखिएको छ । बिहीबार केही विधेयक पारित गरेर अधिवेशन अन्त्य गरिने छ ।
संसद् अधिवेशन वर्षको दुई पटक हुने व्यवस्था संविधानमा रहेको छ । संसदीय अभ्याशमा वर्षायाममा हुने अधिवेशनलाई बर्षे अधिवेशन या बजेट अधिवेशन पनि भनिन्छ । किनभने यो याममा बजेट प्रस्तुत हुन्छ र संसद्को अधिकांश समय बजेट छलफलमा खर्च हुन्छ ।
हिउँद याममा हुने अधिवेशनलाई हिउँदे अधिवेशन पनि भनिन्छ । सो अधिवेशनमा विधेयकहरुलाई प्राथमिकता दिइन्छ । त्यसैले विधेयक अधिवेशन पनि भनिन्छ ।
संसद्को यो अधिवेशन चौथो हो । नयाँ संविधान बनेपछि संसद् अधिवेशन एकबाट गणना गर्न थालिएको हो ।
