काठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यअातंक मच्चाएकाे अाराेप लगाएका छन् । उनले प्रहरी र सरकारी कर्मचारीलाई सत्तासीन पार्टीले आफ्ना कार्यकर्ता जस्तो बनाएको आरोप पनि लगाएका छन् ।
संसद्को चौथो अधिवेशनको अन्तिम दिन बैठकलाई सम्बोधन गर्दै देउवाले नागरिकको जीउधन र अधिकारको रक्षा गर्न सरकार असफल भएकाे दावी गरे । उनले भने- 'याे सरकार गठन भएको डेढ वर्ष पुग्दासम्म संविधानप्रतिको अपनत्वको दायरा विस्तार गर्ने र संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने काममा सरकार असफल छ । संविधानको मर्म र भावनाअनुरुप संघीयतको बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएकाे छ ।'
सरकारले न्यायपालिकामाथि हस्तक्षेप गरेकाे, संसदलाई खेलौना बनाएकाे अाराेप पनि उनले लगाए । संवैधानिक व्यवस्थाअनुसार स्वतन्त्र राख्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोगलाई समेत सरकारले नियन्त्रण गर्न खाेजेकाे देउवाले बताए ।
विकास निर्माणमा सरकार सुस्त देखिएको, इतिहासमै ठूलो भ्रष्टाचारको घटना पछिल्लो डेढ वर्षमा भएको देउवाले दावी गरे । वाइडबडी काण्ड, सुन काण्ड, बालुवाटारको जग्गा काण्डकाे नाम लिँदै देउवाले सम्पूर्ण राज्यसंरचनाको भ्रष्टिकरण गरिएकाे बताए ।
सरकारले विवादास्पद विधेयक ल्याएको, प्रतिपक्षीको आवाज नसुनेको, विदेश नीतिमा कमजोरी गरेको अाराेप लगाउँदै देउवाले सोधे- “प्रधानमन्त्रीजी, तपाईंको राज्यमा को सुरक्षित छ ?”
