काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्धालाई छोड्न नहुने बताएका हुन् ।
उनले संविधान भनेको विद्यमान आर्थिक, राजनीति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतनसँगै परिर्वतन हुँदै जानुपर्ने बताए । लोकसेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वयन हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताए ।
उनले भने– ‘संविधानमा नै त्रुटीहरु गरेका छौ । त्यहीकारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दिपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फरमान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भनी पुरै च्यातेर पुर्नलेखन गर्नुपर्छ भन्ने आवाज पनि छ ।’
‘यी दुई थरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन । सत्य सेतो र कालोमा हुदैन, सत्य खैरो हुन्छ । त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दे दुर्बल पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पुर्णता दिनुपर्ने आजको आवश्यकता हो । ’– उनले थपे ।
शासकिय र निर्वाचन प्रणालीबिच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता उनले औल्याए । ठुला ठुला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
उनले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्धन्द्धमा फस्न सक्ने खतरा औल्याए । उनले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बिआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठीक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । नेपाल जस्तो सानो मुलुकले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशिल, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसंग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता उनले औल्याए ।
