काठमाडाै । संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन् । संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो । उनीहरुले सभामुखसँगको आफूहरुको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन ।
डेढ वर्षको अनुभवले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्षमा पुगिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् । बुधबार काठमाडौंमा संचारकर्मीमाझ उनले आफूहरुको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने निष्कर्ष निकालिएको स्पष्ट पारेकी हुन् ।
सूदुरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सभामुखको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाउने विषयमा उपसभामुखहरुबीच छलफल गरिएको बताइन् । उनले यो छलफलले आफूहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
उपसभामुखहरुको बैठकमा संसदीय भाषाको प्रयोगका विषयमा पनि छलफल गरिएको थियो । उपसभामुखहरुले बोल्ने भाषा कसरी सन्तुलित बनाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको कर्णाली प्रदेश प्रदेश सभाकी उपसभामुख पुष्पा विष्टले जानकारी दिइन् ।
गत वर्षको ३ भाद्रदेखि नै संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ दुवै संसदका उपसभामुखहरुबीच संयुक्त छलफल हुँदै आएको छ । संवैधानिक व्यवस्था अनुसारका आ–आफ्ना जिम्मेवारीलाई पूरा गर्न दुवै संसदमा उपसभामुखहरुबीच छलफल हुने गरेको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले जानकारी दिइन् ।
बैठकमा प्रतिनिधि सभाकी उपसभामुख तुम्बाहाङफे, राष्ट्रिय सभाकी उपाध्यक्ष दाहाल, प्रदेश २ प्रदेश सभाकी उपसभामुख उपमा कुमारी देव, गण्डकी प्रदेश प्रदेश सभाकी उपसभामुख सृजना शर्मा, कर्णाली प्रदेशकी प्रदेश सभा उपसभामुख विष्ट र सुदुरपश्चिम प्रदेश प्रदेश सभाकी उपसभामुख जोशीको सहभागिता थियो ।
