काठमाडौं । संसदीय समितिले नेपाली बजार अनुगमनमा चिनियाँ अधिकारीहरुलाई सहभागी गराउन पहन गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले त्यसका लागि पहल गर्ने निर्णय गरेको हो ।
चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसँग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि समिति यस्तो निश्कर्षमा पुगेको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने – ‘समय मिलाएर चिनियाँ अधिकारहरुसँगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष निकालिएको छ ।’
बैठकमा चिनियाँ बजार अनुगमन उपमन्त्री जुनले चिनियाँ बजारको अनुगमनको अनुभव सुनाएका थिए भने समितिका सदस्यहरुले नेपालको बजार अनुगमनबारे जानकारी गराएका थिए ।
चिनियाँ टोलीले चीनको बजार अनुगमनका लागि आउन पनि समितिका सभापति श्रीवास्तावलाई निमन्त्रणा गरेको थियो । बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो ।
समितिका सभापति श्रीवास्तवले चीनको बजार अनुगमनको अनुभव सेयर गरेकोमा चिनियाँ प्रतिनिधिमण्डलप्रति आभार पनि व्यक्त गरे ।
