काठमाडौं । संसदीय समितिले अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्कालका लागि रोक्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारले नेपाली कम्पनीले छपाई गर्न प्रतिस्पर्धा गर्न नसक्ने गरी स्टिकर छपाई सम्बन्धि टेन्डर आह्वान गरेको समितिले निष्कर्ष निकालेको हो। सो सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने बैठकले निर्णय गरेको छ ।
नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्त शुल्क स्टिकर छपाईसम्बन्धि सरकारले बोलपत्र आह्वान गरेको थियो । त्यसैले निर्देशन दिइएको समितिका सचिव डा रोजनाथ पाण्डेले बताए । समितिले एक वर्ष अघि नै अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो ।
सरकारको निर्णयका सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पत्राचार गरेको सचिव पाण्डेले जानकारी दिए। बैठकमा राजेन्द्रकुमार केसी लगायतका सदस्यहरुले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।
