काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको विषय संसदीय समितिमा पुगेको छ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक र कालापानी समेटेपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल गर्ने भएको छ ।
सोमबार बस्ने बैठकमा सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको समिति सभापति शशी श्रेष्ठले सनराइज खबरलाई बताइन् । उनले भनिन् – 'भोलि बिहान साढे ११ बस्ने बैठकमा प्रधानमन्त्रीसँग भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्ने तय भएको छ ।’
समितिका सदस्यहरुले सो विषयमा प्रधानमन्त्रीसँगै छलफल गर्ने बताएपछि बोलाइएको सभापति श्रेष्ठले जानकारी दिइन् ।
सोही विषयमा प्रधानमन्त्री ओलीले शनिबार साँझ सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकमा भारतले कालापानी उताको नेपाली भूभागलाई भारतमा गाभेर नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिलाई चुनौती दिन प्रधानमन्त्री ओलीले बैठक बोलाएका थिए ।
बैठकमा सहभागी सबै राजनीतिक दल तथा प्रतिनिधिले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको मामिलामा सरकारलाई सहयोग गर्ने जनाएका थिए । भारतीय कदमको विरुद्ध देशभर दिनैजसो विरोध प्रर्दशन भइरहेका छन् ।
राज्य व्यवस्था समितिकाे बैठकमा प्रधानमन्त्री अाेली जानेनजाने प्रष्ट भएकाे छैन । प्रधानमन्त्रीले अाफ्नाे तर्फबाट काेही मन्त्रीलाई खटाउन पनि सक्ने व्यवस्था छ ।
