काठमाडौं । सरकारले सीमा विवादको विषयमा भारतसँग संवाद सुरु गरेको बताएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या अर्यालले भारतीयसँग सो विषयमा सरकारले सम्वाद अघि बढाइसकेको बताइन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बोल्दै उनले भारत पनि वार्तामा बस्न तयार रहेको बताइन् । उनले भनिन् – ‘भारतको विदेश मन्त्रालयले सचिव विजय गोख्लेबाट यसबारेमा छलफल गरौँ भन्ने जानकारी आएको छ ।’
मन्त्री अर्यालले परराष्ट्र मन्त्रालयको सचिवस्तरीय संयन्त्रले सीमा विवादको विषयमा काम गरिरहेको जानकारी दिइन् । लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा नेपाली एकमत भएको भन्दै उनले कानुनी रुपमा अघि बढ्न सजिलो भएको बताइन् ।
०२५ साल भन्दा अघि भारतकै सहयोगमा बनेका नक्सामा यी तीनै भूभाग नेपालतर्फ नै रहेको उनले जानकारी दिइन् । उनले भनिन् – ‘सन् १८२७ देखि १८५६ सम्मका भारतले नै बनाएका नक्सामा समेत कालापानी र लिपुलेक समावेश गरेको तथ्य छन् । सन् १८६५ मा भारतकै तर्फबाट प्रकाशित भएको थियो । कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो । सो विवाद अझै समाधान हुन सकेको छैन ’
नेपालको एक इञ्च भूमि विदेशीलाई दिन नसकिने भन्दै उनले अरुको पनि नलिने दृढता व्यक्त गरिन् ।
नक्कली नक्सा बनाएर कालापानी भारतमा गाभ्ने प्रयास भएको भन्दै उनले असन्तुष्टी जनाइन् । ‘लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमाना हो । नक्कली नक्सा बनाएर कालापानी भारतमा गाभ्ने प्रयास भएको छ । हाम्रो भूमि कसैलाई दिँदैनौँ ।’
नेपालका लिपुलेक र कालापानीलाई भारतले राजनीतिक नक्सामा राखेपछि संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा होलीलाई छलफलमा बोलाएको थियो । ओली आउन नसक्ने भएपछि मन्त्री अर्याल बैठकमा गएकी हुन् । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस नेता दिलेन्द्र बडु लगायत सहभागी छन् ।
।
