काठमाडौं । कर्मचारीहरु सकेसम्म सुगम क्षेत्रमा बस्न चाहने, तर प्रमोशन चाहिएको बेला दुर्गममा जान बल गर्ने प्रवृत्ति रहेको संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
उनले विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा र पदस्थापन मन्त्रिपरिषद्ले गर्ने भएकोले यो मस्यौदा भित्र ल्याउन नसकेको जानकारी बैठकमा दिए । मस्यौदामा रहेको सरुवा चक्रीय प्रणाली रहेको र यो पहिलो पटक ल्याउन लागेको उनले छलफलमा बताए ।
भारतमा प्रयोग भएको यो प्रणाली अनुसार कर्मचारी खटाइने स्थानलाई संकेत नम्बर दिएको हुन्छ । सो संकेत नम्बर अनुसार कर्मचारीले कुन स्थानमा खटाइने भन्दा पनि सरुवाको मिति पूरा भएपछि कति नम्बरको क्षेत्रमा जाने स्पष्ट हुने व्यवस्था मस्यौदामा राखिएको छ ।
सहसचिवको नेतृत्वमा भएको टोलीले यो विषयमा अध्ययन गरिरहेको पनि मन्त्री पण्डितले छलफलमा जानकारी दिए ।
अहिले काठमाडौंमा रहेको व्यक्ति सुगम कि दुर्गम जाने ठेगान नभएको र आफू अनुकुल सरुवाको माग गर्ने भएकोले नम्बर अनुसारको सरुवा विकल्प रहेको पनि उनले स्पष्ट पारे ।
