पोखरा । उपनिर्वाचनमा बागलुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम उनलाई शपथ गराए। मङ्सिर १४ गते भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाकोतर्पmबाट उनी निर्वाचित भएका हुन् ।
सो क्षेत्रबाट यसअघि निर्वाचित टेकबहादुर घर्तीमगरको २०७५ मङ्सिर २७ गते जण्डिसका कारण उपचाररत रहेकै अवस्थामा निधन भएको थियो । उपचुनावमा राजमोका शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका थिए । उनले काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतको अन्तरले पराजित गरे । शेरचनले नौ हजार १३८ मत ल्याए।
शपथ ग्रहण पश्चात् उनले जनताको समस्या संसद्मा उठान गर्नुका साथै नीति निर्माणमा सक्दो भूमिका खेल्ने बताए ।
गणतन्त्र संस्थागत गर्ने, राष्ट्रियता बचाउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निर्वाचन क्षेत्रमा सडक, खानेपानी, विद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विकास निर्माणमा जुट्ने विश्वास व्यक्त गरे । शपथपश्चात् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपसभामुख सिर्जना शर्मा, मन्त्रीहरु एवं प्रदेशसभा सदस्यले शाहीलाई बधाई दिएका थिए ।
