काठमाडौ । सिमेन्टकाे गुणस्तर घटाउने गरी गुणस्तर विभागले निर्धारण गरेकाे सिमेन्टकाे नयाँ मापदण्ड तत्काल कार्यान्वयन नहुने भएकाे छ। सिमेन्टकाे नयाँ मापदण्ड तत्काल लागू नगर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएसँगै नयाँ मापदण्ड तत्कालै लागू नहुने भएकाे हाे ।
गुणस्तर विभागले गत असार १८ मा सिमेन्टमा मिसाइने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय गरेको थियो । अघुलनशील पदार्थको मात्रा २ बाट बढाएर ४ पुर्याएको थियो भने म्याग्नेसियम अक्साइडको मात्रा पनि बढाएर पाँच प्रतिशतबाट ६ प्रतिशत पुर्याएको थियो ।
बैठकमा उद्योग सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड परिवर्तन गर्ने फाइल तयार भएपनि त्यसलाई कार्यन्वयन नगरिएको भन्दै आफ्नो बचाउ गरेकी छिन् ।
समितिको बैठकमा लेखा समितिका सभापति भरतकुमार साहले उद्योग सचिवले आफूलाई बचाउन झुटो बोलेको आरोप लगाएका छन् ।
सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेको तर समितिको बैठकमा कार्यान्वयनमा हुन बाँकी रहेको भन्दै उद्योग सचिव पन्छिने प्रयास गरेको सभापति साहले आराेप लगाएका हुन् ।
सांसद प्रेम आलेले गुणस्तर जस्तो संवेदनशील विषयमा राष्ट्र सेवक जनता र उपभोक्ताप्रति उत्तरदायी नभएको बताए । सरकारको उच्च ओहोदामा बस्ने व्यक्तिले जे गरेपनि हुन्छ भन्ने मानसिकताले भ्रष्टाचार मौलाउँदै गएको बताए ।
यस्तै सांसद सूर्य पाठकले भूकम्पको उच्च जोखिमयुक्त मुलुकमा पाँच वर्षमै चर्कने सिमेन्टको मापदण्ड लागू गर्ने निर्णय गर्नु गलत भएको बताए ।
नेपाल गुणस्तर परिषद्ले ओपीसी सिमेन्ट उत्पादनमा सिमेन्टको गुणस्तर मापदण्ड परिमार्जन गर्ने निर्णय गरेपछि समितिले सिमेन्ट विज्ञसँग सुझाव लिएको थियो । सोही सुझाव अनुसार सोमबारको लेखा समितिको बैठकले पुरानै मापदण्ड कायम राख्न निर्देशन दिएको हो ।
