काठमाडौं । प्रतिनिधी सभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा राष्ट्रिय खेलकुद परिषद् गठनकाे प्रावधानमा छलफल भएको छ ।
‘खेलकुद विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि जारी दफावार छलफलमा राष्ट्रिय खेलकुद परिषद् गठनकाे प्रावधानमा सोमबार छलफल भएको हो ।
छलफलमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद परिषद्मा संविधानले व्यवस्था गरेको महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने धारणा राखेका छन् ।
यस्तै नेकपा सांसद जीवनराम श्रेष्ठले साे परिषद्लाई देशव्यापी बनाउन प्रदेश खेलकुद मन्त्रीलाई पनि सहभागी गराउनु पर्ने बताए । क्षमता भएको व्यक्ति नीति बनाउने ठाउँमा चाहिने भएकाले प्रदेश मन्त्रीलाई परिषद्मा ल्याउनुपर्ने उनको भनाइ छ ।
तर, नेपाली कांग्रेसका सांसद् गगन थापाले केन्द्रकाे खेलकुद परिषद्मा राज्यमन्त्री र सहसचिव स्तरको व्यक्ति राखेर प्रदेशमा मन्त्रीको प्रतिनिधित्व गराउनु उपयुक्त नहुने बताएका छन् ।
