काठमाडौं । प्रतिनिधि सभाले आजबाट नयाँ सभामुख चयनको प्रक्रिया थाल्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया आरम्भ हुन लागेको हो ।
आजै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिँदैछिन् । उनले बैठक सुरु हुनु अघि राजीनामा दिने भएकी हुन् । सभामुख पदको दावेदार शिवमाया पनि हुन् । सभामुखकाे टुंगाे नलागेमा भने उनले राजीनामा नदिन सक्छिन् ।
आजबाट सभामुख चयनको प्रक्रिया आरम्भ हुने भए पनि आजै उम्मेदवारी पर्ने छैन । आजबाट निर्वाचन प्रक्रियाको घोषणा हुने हो । उम्मेदवारी दिने र मत दिने दिनको घोषणा गर्ने योजना छ ।
सभामुखको निर्वाचन गोप्य मतदानबाट नभएर खुला मतदानबाट हुन्छ । एकजनाको मात्र उम्मेदवारी परेमा निर्विरोध निर्वाचित हुनेछ ।
तर, सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म तय गर्न सकेको छैन । नेकपा नेतृत्व अनिर्णित रहेको अवस्थामा आज प्रतिनिधि सभाको बैठक नै नबस्न सक्छ । त्यसो भएमा सूचना टाँस गरेर बैठक स्थगित गरिन सक्छ । अर्काे उपाय भनेको कार्यसूचीमा रहेको सभामुख चयन प्रक्रिया थालिने एजेण्डालाई हटाइन सक्छ । तर, जानकारहरुका अनुसार बैठक स्थगित गर्ने पक्षमा नेकपा नेताहरु जानेछन् ।
