काठमाडौं । चिनी मिलबाट भुक्तानी नपाएका किसानले माघको पहिलो सातासम्ममा सबै पैसा पाउने भएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यसको जानकारी दिए ।
उनले चिनी मिल संचालकलाई माघको पहिलो साता सम्ममा उखु किसानको सम्पूर्ण वक्यौता भुक्तान गर्न निर्देशन दिएको जानकारी दिए । वक्यौता भुक्तान गर्न अटेर गर्ने मिल संचालकको सम्पूर्ण कारोबार रोक्का गर्ने तयारी रहेको बताए ।
उखु किसानको वक्यौता उठाउन सरकारले जारी गरेको प्रयासमा भएको प्रगतीको विवरण उनले बैठकमा पेश गरे ।
सो क्रममा उनले बेपत्ता भएका चिनी मिलका संचालक सम्पर्कमा आएको जानकारी दिए । अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलका संचालक राकेशकुमार अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको उनले बताए ।
यस्तै श्रीराम सुगर मिल पनि सम्पर्कमा आएको बताएँदै मिलले कारखानाको अचल सम्पत्ति बेचेर उखु किसानलाई भुक्तानी गर्ने बताएको उनले जानकारी दिए । यो कामको लागि सहजीकरण गर्न मिलले मन्त्रालयसँग सहयोग मागेको उनले बताए ।
महालक्ष्मी सुगर मिलले भने पुस २५ गते भित्र नै वक्यौता तिर्ने लिखित प्रतिबद्धता मन्त्रालयसँग गरेको पनि उनले जानकारी दिए ।
यी सबै मिलहरु भुक्तानी मिति तोकेको बताउँदै मन्त्री भट्टले भने – ‘पुस २५ सम्म ८० प्रतिशत र माघको पहिलो सातासम्म सम्पूर्ण वक्यौता भुक्तान गर्न मिल संचालकलाई मन्त्रालयले निर्देशन दिइसकेको छ ।’
उखु किसानको धर्ना सुरु भइसकेपछि पनि चिनी मिलले भुक्तान सुरु गरिसकेको थियो । गत पुस १६ सम्ममा कुल ६ करोड ५४ लाख ८९ हजार भुक्तान भइसकेको मन्त्री भट्टले जानकारी दिए । आज १२ बजेसम्ममा केही किसानलाई चिनी मिलले भुक्तानी दिएको पनि उनले बैठकमा बताए ।
सरकारले अहिलेको भुक्तानी दिलाउन सबै प्रयास गरेको बताउँदै उनले उखु किसानलाई आन्दोलन बन्द गर्न आग्रह पनि गरेका छन् । उनले यस्ता समस्या दोहोरिन नदिन स्थलगत अनुगमन गर्ने गरी समिति गठन गर्ने जानकारी दिए ।
यस्तै उखु किसानले समयमै पैसा समस्या नपाउने समाधान गर्न उखु मिलमा पुर्याउनासाथ किसानको खातामा पैसा आउने स्वचालित प्रणाली बनाउन सिफारिस गर्ने पनि बताए ।
मन्त्री भट्टको वक्तव्यमा दिएपछि यो विषयमा बोल्दै सांसद् रमेशप्रसाद यादवले यस्तो सम्झौता पहिला पनि भएको, फेरि यो समस्या दोहोरिन्छ कि दोहोरिँदैन भन्दै प्रश्न सोधेका थिए । उनको प्रश्नमा मन्त्री भट्टले समिति नै बनाएर यसको समाधान गर्ने तयारी गरेको बताए ।
यस्तै सांसद् प्रकाश पन्थले किसानको समस्या नदोहोरियोस् भन्दै चिनी उद्योगीको समस्याबारे जिज्ञासा राखे । मन्त्री भट्टले यसको उत्तर दिँदै आधुनिक मेसिन नभएको कारण उद्योगको लागत बढेको जानकारी दिए । याे समस्या नदाेहाेरियाेस् भनेर नै समिति गठन गरिएकाे उनले बताए।
सांसद् रामप्रित पासवानले किसानलाई दिने भनेको अनुदान रकम किसानलाई भुक्तान नगर्नुको कारण सोधेका छन् । त्यसमा जवाफ दिँदै उनले बिचौलियाले सो रकम नखाओस् भनेर प्रक्रिया पूरा गरेर दिइने जानकारी दिए ।
यो विषयमा सांसद् बिमला राई पौड्यालले भनिन् चिनी मिल र किसानको मूल समस्या समाधान पत्ता लगाइ त्यसलाई समाधान गर्दा उपयुक्त हुने सुझाव दिइन् ।
